काठमाडौँ / सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ । 

चौतर्फी दवाव बढेपछि आज (शनिबार) पत्रकार सम्मलेन मार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

मन्त्री बडुले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो ।

अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल, मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।