बुधबारे / बुद्धशान्ति गाउँपालिकाले २.५ किलोमिटर क्षेत्रबाट विद्यालय जाने छात्रालाई निशुल्क साइकल वितरण गर्ने घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले गाउँ सभाको दसौं अधिवेशनमा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्  । 

OM Sai Pathibhara Hospital

प्रसाईँले शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशील सामाजिक जीवन स्थापना गर्ने समेत बताएका छन् । 

त्यस्तै बालविकास केन्द्रको सुदृढीकरण गरी नमूना बालविकास केन्द्रको रुपमा विकास गर्ने, बालविकास र विद्यालयका कर्मचारीलाई मासिक रुपमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधाका अतिरिक्त गाउँपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । 

सामुदायिक विद्यालयहरूमा प्रारम्भिक कक्षा देखि माथिल्लो कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रसाईँले बताए । 

त्यस्तै गाउँपालिकाले प्रत्येक वडाका माध्यमिक विद्यालयमा कृषि विज्ञ र प्राविधिकहरू मार्फत विद्यालयमा प्लास्टिक टनेल घर निर्माण गरी प्रयोगात्मक रुपमा कृषि तथा पशुपालन सम्बन्धी प्रशिक्षण गराउन विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।