बिर्तामोड /  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार उनीहरूले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा नियन्त्रणमा लिइएको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा शिवाकोटी र न्यौपानेसहित सहकोषाध्यक्ष राधिका चुडाल (हुमागाईँ), सन्तोष उप्रेती, कल्पना पुरी (न्यौपाने), संगीता न्यौपाने, कल्पना खरेल (निरौला), नरबहादुर बिक, तुलसा तामाङ, एकता कडरिया (विष्ट) र निरू अधिकारी रहेका छन् । 

केही दिनदेखि बिर्तामोड –५ स्थित बुधबारे हटियामा अनधिकृत रुपमा व्यापार, व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर उपलब्ध गराउन माग गर्दै आएका उनीहरूले हुलदङ्गा गर्दै नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवरले जानकारी दिए । 

गत सोमबार मात्रै बुधबारे हटियाको विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईँ र एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । 

सोही क्रममा न्यौपानेसहितको व्यापारीहरूको टोलीले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।