इलाम / पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ ।
इलाम जिल्ला इलाम नगरपालिका –१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं. १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले २२ असारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ५ साउनसम्म आवेदन दिने समय थप गरिने छ ।
आईपीओमा लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर, इलाम शाखा, ग्लोबल आईएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्सियल बैंकको राँके, मङ्गलबारे, वितौल साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।