झापा / पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै पछिल्लोपटक भाडा बढाएको १० दिन नपुग्दै सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबार देखि लागू हुनेगरी अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो ।

OM Sai Pathibhara Hospital

जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मूल्य बढेसँगै पेट्रोल १९९ रुपैयाँ लिटर र डिजल १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ। बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गरेको छ ।