कविता:

 'चेतनाको क्रान्ति!'


दिल्लीको सडकमा

उठेको हुंकार,

काठमाडौंको मुटुसम्म आइपुगेको छ।

रगतको रङ एउटै हुन्छ,

स्वतन्त्रताको 

सपना पनि एउटै हुन्छ।


जहाँ अन्याय हुन्छ,

त्यहीँ विद्रोह जन्मिन्छ।

जहाँ दमन बढ्छ,

त्यहीँ इतिहास फेरिने सङ्कल्प उठ्छ।


भारतीय जागरूक युवाहरू!

तिमीहरूको 

लोकतान्त्रिक संघर्षप्रति

नेपाली जेन जी आन्दोलनकारीको

क्रान्तिकारी 

ऐक्यबद्धता र सलाम!


हामी विश्वास गर्छौँ—

लोकतन्त्र कुनै सत्ताको उपहार होइन,

यो जनताको अमूल्य गहना हो,

यसलाई लाठीले खोस्न सकिँदैन,

अश्रुग्यासले रोक्न सकिँदैन,

गोलीले समाप्त गर्न सकिँदैन।


संवाद बन्द गर्नेहरूलाई सम्झना रहोस्—

मौन बनाइएका आवाजहरू

एक दिन ज्वालामुखी बनेर विस्फोट हुन्छन्।

जनताको धैर्यलाई कमजोरी नठान,

यो परिवर्तनको गर्भ हो।


हामी सीमाना होइन,

सत्यको पक्षमा

उभिएका छौँ।

हामी -

कुनै राष्ट्रविरुद्ध होइन,

अन्यायविरुद्ध 

उभिएका छौँ।

हामी कुनै सरकार 

ढाल्न होइन,

लोकतन्त्र जोगाउन आवाज उठाइरहेका छौँ।


उठ, युवा!

तिम्रो आवाज भविष्यको संविधान हो।

उठ, जनता!

तिम्रो एकता इतिहासको नयाँ अध्याय हो।


आज दिल्ली 

बोलिरहेको छ,

काठमाडौंले पनि

 सुनेको छ।

भोलि सम्पूर्ण दक्षिण एसियाले गाउनेछ—

जनताको जित 

अवश्य हुन्छ!

लोकतन्त्र अमर रहोस्!

नेपाली–भारतीय जागरूक युवाबीच प्रगतिशील क्रान्तिकारी ऐक्यबद्धता अमर रहोस्!

भद्रपुर-८,झापा