ताप्लेजुङ / लगातार परेको अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा आठ घर बगाएको छ भने ३५ घरपरिवार विस्थापित भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गत बिहीबार यता वर्षासँगै गएको पहिरोका कारण सिरिजङ्गा गाउँपालिका –६ स्थित मामङ्खेमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ ।
त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर र फक्ताङलुङ गाउँपालिका –२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो ।
पोखरेलका अनुसार ३५ घरपरिवार विस्थापित भएका समितिले जनाएको छ । जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइसकेको बताइएको छ । केही घरपरिवार भने विद्यालयको भवनमा समेत बस्दै आएका छन् ।
निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।
गत बिहीबार देखि परेको वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो ।