काठमाडौँ / एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका –८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।
पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका –३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्री बहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।
व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको छ ।
सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेको अवस्थामा पटक-पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।
सो कम्पनीको सेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् ।
हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।