झापा / एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । 

मलेसियाको बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभरमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले भुटानलाई ५० रनले हराएको हो ।  

OM Sai Pathibhara Hospital

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए ।

९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान १७.५ ओभरमै अलआउट भएको हो । छिरिङ जाङ्मोबाहेक भुटानका लागि कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । छिरिङले २८ बलमा १६ रन बनाएकी थिइन् ।

नेपालका लागि सबनम राईले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन मात्र खर्चिएकी थिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले २/२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र इन्दु बर्माले १/१ विकेट लिए ।

जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाली टिमले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।