काठमाडौँ / पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ ।
खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।
नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ ।
यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।