काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ लिमिटेडबीच मर्जर सम्झौता भएको छ ।
बिहीबार प्रारम्भिक समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ राख्ने र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।
त्यस्तै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाडौँको तर्फबाट २ जना रहने सहमति भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।






































