झापा / सात वटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन्।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
सोही प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्।
सबैजसो प्रदेश सरकारले सार्वजनिक गर्न लागेको बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राखेका छन्।
प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ भने मधेस प्रदेश सरकारले झन्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।