काठमाडौँ / राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार १८ असोज २०७८ देखि हालसम्ममा ११५ वटा मुद्दा दायर गरिएको हो । 

जसमध्ये राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायर गरेको पौडेलले बताए । 

OM Sai Pathibhara Hospital

विभागका अनुसार राजस्व चुहावट सम्बन्धी दायर गरेको ६९ वटा मुद्दामा २०३ जना मुछिएका छन् । उनीहरूविरुद्ध विभागले कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरेको छ । 

त्यस्तै विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्दा दायर गरिएकोमा ७८ जना मुछिएका छन् । उनीहरूविरुद्ध १ अर्ब १० करोड २१ लाख ४७ हजार ७८४ रुपैयाँ बिगो दाबी गरिएको छ । 

यसैगरी, पछिल्लो ८ महिनामा भीसीटीएसमा ६६८ वटा फर्म/सवारीलाई कारबाही गरिएको छ । कारवाहीमा परेकाबाट विभागले ३ करोड ४३ लाख २६ हजार रुपैयाँ रकम संकलन गरेको महानिर्देशक पौडेलले बताए ।