काठमाडौँ / आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाको सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो । 

आगामी चार बर्से कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

OM Sai Pathibhara Hospital

यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो । 

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले शेर्पा समूहबाट उम्मेदवारी दिएका हुन् । 

यता, पंकज विक्रम नेम्बाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वीरबहादुर खड्काले भने दर्ता गराएका छैनन् । कार्यसमितिमा एक वरिष्ठ उपाध्यक्ष रहनेछन् । 

यस्तै, उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा र दीर्घबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । 

एन्फाको २१ सदस्यीय कार्यसमितिमा चार जना उपाध्यक्ष रहन्छन् । महिला सदस्यका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ मेलकु र विमला पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कार्यसमितिमा दुई महिला सदस्य रहन्छन् ।

यस्तै, १३ जना खुला सदस्यका लागि १९ जनाको उम्मेदवारी परिसकेको छ ।