बिर्तामोड / राजु अर्याल सशस्त्र प्रहरी बलका महानिरीक्षक हुन् । उनी काठमाडौँको तारकेश्वर नगरपाकिा–५ मा बसोबास गर्दै आएका छन् ।
वि सं २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रारम्भ गरेका अर्याल एक अनुभवप्राप्त सुरक्षा अधिकारी रहेका छन् ।
२०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि एक दर्जा बढुवा भएर समायोजन भएका अर्यालले आईजीपीको चार वर्षे कार्यकाल पूरा गर्नेछन् ।
आइजीपी अर्यालले सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका छन् भने उनलाई राम्रो सम्पर्क भएका कमान्डरको रूपमा चिन्न सकिन्छ ।
ग्रामीण विकास, राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरिसकेका महानिरीक्षक अर्याल हाल विद्यावारिधि गर्दै छन् ।
उनले प्रहरी अधिकृत आधारभूत तालिम, विशेष सशस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति तथा स्टाफ, उच्च व्यवस्थापन र विकास, अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार तालिम समेत लिएका छन् ।
महानिरीक्षक अर्याल सङ्गठनको सुदृढीकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदो स्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी तालुक निकायले तोकिदिएको जिम्मेवारीमा क्रियाशील भएर अघि बढ्दै आएका छन् ।
आइजीपी अर्यालले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रवल जनसेवा श्री, युएन मेडल, परदेश सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, युएन सेवा पदक दैवी प्रकोप उद्धार पदक समेत प्राप्त गरेका छन् ।
उनीसँग फरकफरक दर्जामा रहेर दुई पटक लाइबेरिया मिसन सहित युएन मिसन, युएन डार्फर मिसनमा गएको अनुभव पनि रहेको छ ।
आर्थिक पारदर्शितामा रहने र राजस्व सङ्कलन तथा चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएका आइजीपी अर्यालले विभिन्न देशको शान्ति मिसनमा समेत नेतृत्व गरेका छन् ।
आइजीपीमा नियुक्त भएलगत्तै सशस्त्र प्रहरी संगठन सुधार अभियानमा सक्रिय बनेका अर्यालले संगठन सुधारका लागि कर्मचारीका हितमा विभिन्न निर्णयहरू गरेका छन् ।
उनले स्केलका समानहरुमा सुधार गर्नेदेखि सशस्त्र प्रहरी बलमा कर्मचारीहरूको सुविधा एवं. निजका सन्ततिको हितलाई मध्यनजर गरी गण तहसम्मका इकाईहरुले आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र, प्ले ग्रुप स्थापना गर्ने, फ्रेन्च मिसनमा पठाउन कर्मचारीलाई फ्रेन्च भाषा पढाउन सहयोग गर्नेसम्मका निर्णय गरेका छन् ।
प्रविधिको दुरुपयोग गरी हुने आपराधिक गतिविधि, विविध जघन्य अपराधका घटना नियन्त्रण र दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने चुनौतीप्रति पनि उनी संवेदनशील बन्दै आएका छन् ।
परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्दै विकास भइरहेको आधुनिक प्रकृतिका अपराधको चुनौती सामना गर्न सक्षम प्रहरी सङ्गठनलाई निर्माण, स्वास्थ्य सामाजिक संस्कार र सभ्यताको विकासका लागि भूमिका बढाउन समेत अर्यालले आवश्यक पहल गर्दै आएका छन् ।