एजेन्सी / म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ को अन्तरले जित निकालेको हो । 

यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

रियलबाट रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए भने सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।

माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाएका थिए । तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि इन्जुरी समयमा रोड्रिगोले पुनः दोस्रो गोल गरेसँगै खेल समग्रमा ५–५ गोलको बराबरीमा पुगेको थियो ।  

अतिरिक्त समयको पाँचौ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाएका थिए ।