एजेन्सी / इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा हाइप्रोफाइल प्रतिष्पर्धामा रोयल च्यालेन्जर्स बैङ्ग्लोरले चेन्नाई सुपर किड्सलाई १३ रनले हराएको छ ।

यो सँगै जारी प्रतियोगितामा छैठौं जित निकालेको बैङ्ग्लोरले अङ्क तालिकामा चौथो स्थानमा उक्लिँदै प्ले अफको सम्भावना बलियो बनाएको छ ।

सन् २०२० पछि आइपिएलमा बैङ्ग्लोरले चेन्नाईलाई  हराएको पहिलो पटक हो ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो  । चेन्नाईको ओपनर डेभन कन्वेले सर्वाधिक ५६ रन बनाए । मोइल अलीलले ३४ रन बनाउँदा ओपनर ऋतुराज गायकवाडले २८, ड्वेन प्रिटोरियस १३ तथा अम्बाती रायुडूले १० रन बनाए ।

यस्तै रविन्द्र जडेजा ३ रनमा आउट हुँदा रोविन उथप्पा १, कप्तान महेन्द्रसिंह धोनी २ र महेश थिक्सनाले ७ रन बनाए। 

चेन्नईलाई रोक्न बेंगलोरका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। यस्तै ग्लेन म्याक्सवेलले २ विकेट लिँदा शहबाज अहमद, जोश हेजलवुडवानिन्दु हसरंगाले समान १–१ विकेट हात पारे ।


त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

उसका लागि महिपाल लोमरले सर्वाधिक ४२ रन बनाए । यस्तै फाफ डु प्लेसिसले ३८ रन बनाउँदा अर्का ओपनर विराट कोहलीले ३० रन जोडे ।

दिनेश कार्तिकले २६ रन बनाउँदा साजत पाटिदर २१ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बेंगलोरलाई ओपनर कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७।२ ओभरमा ६२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । तर दुबै ओपनर आउट भएपछि बैंगलोरलेले स लगातार विकेट गुमाउँदै गयो ।

ग्लेन म्याक्सवेल ३, हसरंगा शून्य, शाहबाज अहमद १ र हर्सल पटेल शून्यमा आउट भए । 

चेन्नईका लागि महेश थिक्सनाले सर्वाधिक ३ विकेट लिए । यस्तै अलराउन्ड प्रदर्शन गरेका मोईन अलीले २ विकेट लिए। ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो । 

यो जितसँगै बैङ्गलोर ११ खेलबाट १२ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

यो हारसँगै चार पटकको च्याम्पियन चेन्नाई सुपर किंग्सलाई प्लेअफ पुग्न मुस्किल भएको छ ।

१० खेलमा ३ जित निकालेको चेन्नाईले हालसम्म ६ अङ्क जोडेको छ । अब आफूले बाँकी सबै चार खेल जितेर १४ अङ्क बनाए पनि चेन्नाईलाई प्लेअफ पुग्न अर्को टोलीसँग भर पर्नुपर्ने हुन्छ ।

अब चेन्नईले मे ८ मा दिल्ली क्यापिटल्स, मे १२ मा मुम्बई इन्डियन्स, मे १५ मा गुजरात टाइटन्स र मे २० मा राजस्थान रोयल्ससँग खेल्नेछ ।

तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले १० खेलमा १६ अङ्क जोडेको छ ।

यस्तै अर्को नवप्रवेशी लखनऊले समान १० खेलबाट ७ मा जित र ३ मा हार सहित १४ अंक जोडेर दोस्रो स्थानमा छ। राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

रन रेटमा पछि परेको बैङ्ग्लोर चौथो स्थानमा छ ।

यस्तै हैदराबाद र पञ्जाब समान १०-१० अङ्कसहित पाँचौ र छैठौं स्थानमा छन्। समान ८ अङ्क रहेका दिल्ली र कलकत्ता सातौ र आठौं स्थानमा छन् ।

पराजित चेन्नाई १० खेलमा ३ मा जित र ७ मा हार सहित नबौं स्थानमा झरेको छ। १ खेलमा जित निकालेको मुम्बई पुछारमा छ ।