एजेन्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्न सेमिफाइनलको पहिलो खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । 

अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अङ्कको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् ।  यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज (मंगलबार) मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । 

OM Sai Pathibhara Hospital

दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मे मा आयोजना हुनेछ । यसपछिको फाइनल खेल भने अर्को महिना फ्रान्स राजधानी पेरिसमा हुनेछ । पहिलो लेग अघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला  र रियलका प्रशिक्षक कार्लो एन्सेलोटी दुबै आ-आफ्नो बलियो एघारलाई मैदान प्रवेश गराउनेछन् र फाइनल नजिक पुग्ने योजनामा छन् । 


केभिन डे ब्रुयन, बर्नाण्डो सिल्भा, फिल फोडेन, रियाद मेहरेज, रहिम स्टर्लिङ, रोड्री, केली वाल्कर, गाब्रियल जेसुस गोलरक्षक इडर्सन रियलका लागि घातक हुन सक्छन् । यता, रियलले पछिल्लो समय उच्च लयमा रहेका फरवार्ड तथा कप्तान करिम बेन्जेमालाई मुख्य हतियार बनाउने छ । अन्तिम आठको खेलमा उनले पेरिस सेन्ड जर्मेन (पीएसजी)विरुद्ध ह्याट्रिक गरेका थिए । 


उनको साथमा भिनिसिअस जुनिअर, कासेमिरो, लुका मोड्रिक, डेभिड अलबा जस्ता खेलाडी छन् र उनीहरूले सिटीलाई घरेलु मैदानमा दबाब सृजना गर्ने सक्छन् ।