बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले सहभागी हुन आवेदन फारम भरेका थिए । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका परीक्षक नियन्त्रक रायमाझीले जानकारी दिए ।
कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रूपमै सञ्चालन गरेको हो ।
अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । परीक्षा वैशाख २० गते सकिने छ ।