विराटनगर / जिल्ला अदालत मोरङले छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ । 

लेटाङ नगरपालिका –५ स्थित शिक्षा माविमा कक्षा सातमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पौडेललाई न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको हो । 

OM Sai Pathibhara Hospital

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले गत चैत ६ गते पक्राउ गरेको थियो । पौडेललाई जबरजस्तीकरणी उद्योगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो । 

गत फागुन ४ गते होलीको दिन शिक्षक पौडेलले सोही विद्यालयमा कक्षा ७ मा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । विद्यालयमा शिक्षकलाई पक्राउ गर्नु पर्ने माग गर्दै विद्यार्थी तथा स्थानीयले विद्यालयमा आगजनी तथा तोडफोड गरेका थिए । 

घटनामा नागरिकको सुरक्षामा खटिएकी रानी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणमा ज्यान गएको थियो । 

महिला प्रहरीको ज्यान जाने गरि भएको घटनामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको १५ जनामाथिको थुनछेक बहस अहिले चलिरहेको छ । 

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १५ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको भएपनि १० जना मात्र पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका २ का २१ वर्षीय कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका ५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेष मगर, २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय कुमारबहादुर खोक्रेल, १८ वर्षीय कपिल नेपाली, २० वर्षीय समिर राई, २५ वर्षीय मनकुमार महरा, १९ वर्षीय अनिल विश्वकर्मा र २९ वर्षीय लेखबहादुर मगर छन् । अन्य ५ जना फरार रहेको उल्लेख गरिएको छ । 

लेटाङ घटनामा संलग्न रहेको आरोपमा १५ जना नाबालकलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ । त्यस्तै, अन्य ३७ जनालाई पनि प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा चलाएको छ ।