काठमाण्डौ / कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मा नयाँ कलाकार अनुबन्धित भएका छन् । अनुबन्धित नयाँ कलाकार सहितको टिम निर्माण पक्षले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहने फिल्मको निर्देशकमा दीपेन्द्र के खनाल भित्रिएका छन् ।  खनालले कथावस्तु र नयाँ टिमसहित फिल्मलाई अघि बढाइएको बताएका छन् ।

फिल्मको छायांकन वैशाख तेस्रो सातादेखि गरिने सो कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ । खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन् ।

घर भएका र घर नभएका दुवै वर्गको कथामा फिल्ममा समेटिएको निर्देशक खनालले जानकारी गराएका छन् ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा अनि संवाद र दीर्घ गुरुङको छायांकन रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउने छ ।