नवलपुर / नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा कलाकार पल शाह विरुद्ध परेको मुद्दामा आजबाट नवलपरासीको जिल्ला अदालतमा थुनछेक बहस सुरु हुदैछ ।

बयान र थुनछेक बहसका लागि नवलपुर ल्याइएका शाहको मंगलबार बयान सकिएको छ। तनहुँबाट नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएका उनी विरुद्ध परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासमा शाहको छ घण्टा लामो बयान भएको थियो ।  

थुनछेक बहसका क्रममा सरकारी वकिलको तर्फबाट बहस हुने र त्यसपछि शाहको तर्फबाट ९ जना वकिलले बहस गर्ने अदालत स्रोतले जानकारी गराएको छ । थुनछेक बहस पनि उनैको इजलासमा हुनेछ ।

तनहुँबाट नवलपुर ल्याइएका शाहलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। नाबालिग बलात्कार गरेको अभियोगमा नवलपुरमा चैत ३ गते उनीविरूद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको थियो। शाह यतिबेला जिल्ला अदालत तनहुँको आदेशमा पुर्पक्षका क्रममा थुनामा रहेका छन् ।