विराटनगर / एक नम्बर प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरमा सकृय पत्रकार जीनाजंग कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल टाईम्समा कार्यरत पत्रकार कार्की सत्तारुढ दल नेपाली कांग्रेसको कोटामा उपाध्यक्षमा नियुक्ति भएकी हुन् । त्यसैगरि बैठकले बोर्डको सदस्य सचिवमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका पूर्व भलिबल खेलाडी हंशराज वाग्लेलाई  नियुक्त गरेको छ । 

उनले राष्ट्रिय पुरुष बलिबल टोलीबाट मुलुकका लागि खेल खेलिसकेका छन् । सोमबारकै बैठकले बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई सरकारलाई असहयोग गरेको भन्दै बर्खास्त गरेको थियो । मन्त्रीपरिषद् बैठकले प्रदेश योजना आयोगको अध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । उनी माओवादी केन्द्र निकट अर्थविद हुन् ।