बिराटनगर / विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत एक चिकित्सक शंकास्पद अवस्थामा कलेज नजिकको क्षेत्रमा मृत भेटिएका छन् । नोबोलमा विगत तिन वर्ष देखि कार्यरत २८ वर्षिय चिकित्सक विजय यादव शनिवार विहान शंकास्पद अवस्थामा मृत भेटिएका हुन् ।

सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका उनी शुक्रबार बेलुका नोवेल मेडिकल कलेजले आयोजना गरेको स्वास्थ्य शिविरमा पुगेर फर्किएका थिए ।

नोवेलको अर्थोपेडिक वार्डमा कार्यरत यादवले बङ्गलादेशको ढाकाबाट एमबीबीएस गरेपछि नोवेलमा आवद्ध भएका थिए ।

नोवेल नजिककै क्षेत्र विराटनगर – ४ स्थित एक घरमा डेरा गरी बस्दै आएका उनको शव शंकास्पद अवस्थामा सोही घरको गेट बाहिर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात बटारिएको अवस्थामा उनको शव भेटिएको र घटना स्थललाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतकका आफन्त र नोवेलका स्वास्थ्यकर्मीले चिकित्सक यादवको हत्या भएको भन्दै घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले हत्या भएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।