बिर्तामोड / नाबालिका बलात्कार प्रकरणमा मुछिएका चर्चित अभिनेता पल शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदैछन् । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले पुनरावेदन दिन लागेका छन् । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ ।