काठमाडौं / चर्चित भारतीय क्रिकेटर के एल राहुलको नाममा रहेको अन्तराष्ट्रिय कीर्तिमान तोड्दै नेपाली क्रिकेटर कुशल भुर्तेलले आफ्नो नाम लेखाउन सफल भएका छन् ।
काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी विरुद्धको खेलबाट भुर्तेल टी – २० क्रिकेटमा रहेको भारतीय क्रिकेटरको रेकर्ड तोड्दै  नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् ।
विश्व क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्दै भुर्तेलले नयाँ कीर्तिमान बनाएका हुन् । भारतीय क्रिकेटर राहुलले १३ औं खेलमा ५०० रन पूरा गरी आफ्नो नाममा रेकर्ड राख्न सफल भएका थिए । भुर्तेलले राहुलको भन्दा एक म्याच कम खेल्ने क्रममा नै सो रेकर्ड तोडेका हुन् ।
आफ्नो नाममा नयाँ कीर्तिमान राख्ने क्रममा भुर्तेलले खेलको पहिलो बलमा नै बाउन्ड्री पार गराउन सफल भएका थिए ।
त्रिकोणात्मक टिट्वान्टी सिरिजको सुरुआती खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिला ब्याटिङ गरेको थियो। पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको थियो ।
सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । नेपालले दुवै टोलीसँग दुई/दुई खेल खेल्नेछ ।