काठमाण्डौ / नेपाली राष्ट्रिय टोलीका क्रिकेटर रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान कायम गरेका छन् ।

काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी विरुद्दको खेलका क्रममा उनले उनले एक दिवसीय खेलमा सर्वाधिक रनको साझेदारी , एकै इनिङमा सर्वाधिक रन र एक दिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

पपुवा न्युगिनीसँगको खेलमा नेपाल पराजित बनेपनि रोहित भने आफ्नो नाममा कीर्तिमान कायम गर्न सफल भएका छन् ।

उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको कीर्तिमान भंग गरी आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । ज्ञानेन्द्रले १९ एक दिवसीय खेलमा ४८० रन बनाएका थिए ।

क्रिकेटर रोहितले नयाँ कीर्तिमान कायम गर्ने क्रममा आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १०४ रनको शतकीय साझेदारी बनाउँदै अर्को कीर्तिमान समेत कायम गरेका छन् ।

यसअघि सन् २०२१ को सेप्टेम्बर १९ मा विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्ध आसिफ शेख र ज्ञानेन्द्र मल्लले ९५ रनको साझेदारी गरेका थिए ।

पपुवा न्युगिनीसँगको खेलमा उनले ३९ दशमलव ५ ओभरमा एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरे । ९१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए । यसअघि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पारस खड्का मात्र एक्ला क्रिकेटर थिए । उनले २८ जनवरी २०१९ मा युएई विरुद्ध ११५ रन बनाएका थिए ।

रोहितले शुक्रबार पारसको त्यही सर्वाधिक रनको कीर्तिमान भंग गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका छन् ।  रोहितले १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रनको शानदार पारी खेले ।

राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान कायम गर्न सफल रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले नेपालका लागि २६ जनवरी २०१९ मा युएईविरुद्ध भएको पहिलो खेलमा नै अर्धशतक बनाएका थिए ।