बिर्तामोड / युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ। युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा गए राती नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो।

नर्थ म्यासेडोनियासँग १–० गोलले  स्तब्ध हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोटबाट बाहिरिएको हो। इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाए पनि गोल गर्न नसक्दा  अन्तिम समयमा गोल खान पुगेको थियो।

यो सँगै इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो।  यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो।

विश्वकप छनोटमा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो। जसमा ४८ जित र ११ बराबरी रहेको थियो । जुन नथ म्यासेडोनियाले तोड्दै इटालीको विश्वकप खेल्ने सपना चकनाचुर पारिदिए।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा मंगलबार पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले बिहीबार राति नै टर्कीलाई हराउँदै विश्वकप नजिक पुगेको हो।