बिर्तामोड / अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नावालिग गायिका बलात्कार अभियोगमा पक्राउ परेका शाहलाई बिहीबार जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले तत्काल प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मुद्दाका सहप्रतिवादी कृष्ण जोशीलाई भने तत्काल १ लाख धरौटीमा माग गरिएको छ ।
वादी र प्रतिवादीको तर्फबाट दुई दिनसम्मको थुनछेक बहसपछि बिहीबार साँझ शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका फ्यान भने दुखी बनेका छन् ।
पीडितको तर्फबाट बहस गरेका अधिवक्ता विमलप्रसाद लामिछानेका अनुसार जाहेरवालाको तर्फबाट सरकारी वकिलसहित ९ जना र प्रतिवादीको तर्फबाट १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले मंगलबार पलविरूद्ध अधिकतम् १४ वर्ष र उनका म्यानेजर कृष्णलाई मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो ।
गत फागुन ११ मा नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले फागुन १५ मा तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । तिनै पीडित नावालिग गायिकाले पलविरुद्ध तनहुँपछि जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेकी छन् । उनीविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भइसकेको छ ।
कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । जसमा १२ देखि १४ वर्ष जेल सजाय हुने उल्लेख छ ।