बिर्तामोड / अब माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागी १४ बर्ष पुग्नु नपर्ने भएको छ ।  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था मन्त्रीस्तरीयको निर्णयले खारेज गरेको हो । 

अन्य देशमा पनि माध्यमिक तह पार गर्न उमेरको बाध्यात्मक व्यवस्था नभएको र कतिपय विद्यार्थी १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले एसईईको उमेर हद हटाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन् । बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु उचित  भएपनि, कतिपय बालबालिकाले केही कक्षा नपढी माथिल्लो कक्षामा जान सक्ने अवस्था हुने भएकाले उमेरको हद हटाउनु उपयुक्त देखिएको उनले बताएका हुन् ।