झापा / आज विश्व क्षयरोग दिवस । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर ४० हजार बिरामी सम्पर्क बाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पत्ता लागेको थियो । यो रोगबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणबाट पत्ता लागेको थियो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरि करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित भएको जनाइएको छ । 

जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए । क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।