तनहुँ / नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । 

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । शाह विरुद्ध १४ वर्ष कैद सजायको माग दाबीसहित तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेकाले १२ देखि १४ वर्षको जेल सजाय र मनासिब क्षतिपूर्तिको माग दावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।