बिर्तामोड / दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको हो । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी  अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । 

प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाइँले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक आँट्ने प्याराफिट निर्माण गरिएको उनले बताएका छन । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष चौलागाइँले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङमर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक-११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्बल कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । बुधबारको उद्घाटन खेलमा आयोजक दमक-११ र बागमती युवा क्लब सर्लाही बीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चौलागाइँले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।