काठमाडौँ / यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशको नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पाएका छन् । 

OM Sai Pathibhara Hospital

होली पर्वको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्ष दिँदै आएको ‘महामूर्ख’को उपाधि यस वर्ष डा. झाले पाएका हुन् । 

महामुर्खको उपाधि पाएका डा. झालाई पाक, फलफूल र तकारी मिश्रित माला लगाइ दिएको थियो । उनलाई मिथिला चित्रकला र प्रशस्ति पत्र समेत प्रदान गरिएको छ । 

जनकपुर क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई व्यंग्यात्मक रुपमा महामुर्ख घोषणा गरी सम्मानित गर्ने गरेको मिनापले जनाएको छ ।

मिनापले प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिएको छ ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुआत गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझ्क्कड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।

०७६ मा मधेसका मुख्यमन्त्री लालबाबु राउत र ०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।

०६१ सालदेखि महामूर्ख सम्मेलन गर्दै आएको मिनापले बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, बरिष्ट पत्रकार बृजकुमार यादव, काँग्रेस नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव लगायतलाई समेत महामूर्ख घोषणा गरिसकेको छ ।