काठमाडौं / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को अध्यक्ष सहित तीन पदमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । 

नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रकृयाका क्रममा अध्यक्ष सहित तीन पदमा उमेद्धारी मनोनयन एक जनाको मात्रै भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । 

OM Sai Pathibhara Hospital

आगामी कार्यकालका लागि अध्यक्षमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवालको मात्रै उमेद्धारी परेकाले निर्वाचन समितिले सर्वसम्मत चयन भएको जानकारी गराएको हो । 

आगामी चैत्र ९ र १० गते काठमाण्डौमा हुने १५औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व छनौटका लागि बुधबार सम्पन्न मनोनयनमा तीन पदका लागि तीन जनाको मात्रै उमेद्धारी परेपछि अध्यक्ष सहित तीन जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जानकारी गराएको हो ।  

तीन पद बाहेक अन्य पदमा भने धेरै जनाको उमेद्धारी परेकाले निर्वाचनको सम्भावना देखिएको छ । हालका अध्यक्ष टीकाराम पुरीले सहअध्यक्ष ढुंगानालाई आफू निर्वाचनमा होमिएको समयमा नै सर्वसम्मत अध्यक्ष बनाउने घोषणा गरेका थिए । 

तीन दशक लामो प्याब्सनको इतिहासमा करिब १४ करोड रुपियाँ खर्चेर प्याब्सन शिक्षा सदन खरिद र सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा प्याब्सन सामूहिक बस्तीको निर्माण गर्न सफल भएकाले पुरीको कार्यकाललाई सफल मानिएको छ  । 

 प्याब्सनको विधानमा प्यानल बनाएर प्रतिपर्धा गर्न नपाउने भएपछि उम्मेदवारी दिनेको संख्या बढी भएको छ । प्याब्सन निर्वाचन समितिका अनुसार सहअध्यक्षमा आशिष श्रेष्ठ र ईश्वरबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा दीपिका थापा, कृष्ण अधिकारी र गोपाल आचार्य गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा तुकाराम ९टीआर० ढकाल, नवराज महत, वीरबहादुर बुढाथोकी, टंक भट्टराई, किशोर गौतम, राजेशकुमार दास, गोपाल कार्र्की, जगबीर थापा र नारायणप्रसाद घिमिरे गरी ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासचिवमा आरबी कटुवाल र कुमार घिमिरेको मनोनयन दर्ता भएको छ । त्यसै गरी उपमहासचिवमा भुवनलाल श्रेष्ठ, भीमसेन केसी र शिव कार्की गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला सचिवमा आशाकुमारी खड्का र ग्रेस श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । पुरुष सचिवका लागि रत्न महर्जन, श्यामकुमार यादव, केबी थापा, पुरुषोत्तम अधिकारी, यादव गिरी, शम्भुप्रसाद पोखरेल, सुवर्ण न्यौपाने, हेमन्त कार्की, हेमराज अधिकारी, हीरा शर्मा नेपालले मनोनयन दर्ता गराएका छन् । सहकोषाध्यक्ष पदमा गणेशबाबु पोखरेल, दीपकराज लम्साल, विष्णु न्यौपाने र हेमलाल शर्माले मनोनयन गराएका छन् ।

महाधिवेशनमा मुलुकभरबाट २ हजार २ सय ४६ प्रतिनिधिको सहभागिता रहनेछ । प्याब्सनमा मुलुकभरबाट ५ हजार सदस्य विद्यालयले सदस्यता नवीकरण गरेको अध्यक्ष पुरीले जानकारी गराएका छन् । 

मतदान हुने अवस्था आए विद्युतीय प्रणालीबाट मतदान गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ । महाधिवेशनले २७ पदाधिकारी र ३९ जना सदस्य चयन गर्नेछ ।