काठमाडौँ / नयाँ शैक्षिक सत्रमा जेठ १ गतेदेखि नियमित पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयहरूलाई निर्देशन दिएको छ । विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।
एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ । यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ ।

‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्ने ।’साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै शुरु गर्नुपर्नेछ । चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने केन्द्रले बताएको छ ।