एजेन्सी / विश्वका सर्वोत्कृष्ट फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ । प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ । 

पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५० जना निर्णायक रहनेछन् । 

OM Sai Pathibhara Hospital

सन् २०२१ मा बालोन डी’ओर विजेताको रूपमा पेरिस सेन्ट-जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो । सो आलोचनापछि परिवर्तनहरू घोषणा गरिएको हो ।

मेस्सीले कीर्तिमानी सातौँ पटक प्रख्यात ट्रफी जितेका थिए । तर दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले २०२०-२१ सिजनमा ४१ बुन्डेसलिगा गोल गरेका थिए किनभने उनले बायर्नलाई लगातार नवौँ लिग उपाधि जिताउन मद्दत गरेका थिए। अर्को बालोन डी ओर अवार्ड सन् २०२२ को सेप्टेम्बर वा अक्टोबरमा आयोजना गरिने बताइएको छ ।