एजेन्सी / चेल्सीले रेलिगेसन जोनमा रहेको नर्विच सिटी माथि सहज जित निकालेको छ  । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । मासन माउन्टको पासमा उनले गोल गरेका थिए भने खेलको १४ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

OM Sai Pathibhara Hospital

पहिलो हाफमा २-० ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै नर्विचलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

तर खेलको अन्तिम समयमा काइ हार्भट्जए गोल गर्दै चेल्सीलाई ३-१ को स्पष्ट जित दिलाएका थिए । यो जितसँगै चेल्सीले २७ खेलमा ५६ अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको लिभरपुलसँग अङ्क दूरीसमेत छोट्याएको छ । 

लिभरपुलले समान खेलबाट ६३ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले ६९ अङ्क बनाएको छ । चेल्सीसँग पराजित नर्विच १७ अङ्क जोडेर तालिकाको पुछारमा छ ।