बिर्तामोड / संकटा क्लब काठमाडौँले नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरेका थिए । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पाएको थियो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपेका थिए ।

OM Sai Pathibhara Hospital

खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाएका थिए । खेलको ३६ औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरिएको थियो ।

४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार पनि विपक्षी गोलरक्षक प्रिसोले बचाएका थिए । त्यसैगरी ७५ औँ मिनेटमा थ्री स्टारका सन्जोग राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिएका थिए ।

संकटाका गोलरक्षक रोहित कार्कीले मङ्गलबारको खेलको प्लेयर अफ द म्याच हुन सफल भएका थिए भने उनले नगद ९ हजार ९९९ रुपैयाँ समेत प्राप्त गरेका थिए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताएका छन् ।

त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताएका छन् । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताएका छन् ।

आजको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिएका छन् ।

आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरू महिलाहरू मात्र रहेका थिए ।