एजेन्सी / बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा प्रवेश गर्न सफल भएको छ ।  बार्सिलोनाले एल्कमाथि २–१ गोल अन्तरको जित निकाल्दै अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिन सफल भएको हो ।

बार्सिलोनालाई जिताउन फेरान टोरेस र मेन्फिस डेपेले गोल गरेका थिए भने एल्कका चाभेसले गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ सकिनुभन्दा केही समयअघि ४४ औं मिनेटमा चाभेसले गोल गर्दै एक्लले सुरुआती अग्रता लिएको थियो ।

OM Sai Pathibhara Hospital

पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा सबस्टिटच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले ६० औं मिनेटमा अल्बाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा मेन्फिस डेपेले गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाएका थिए ।

खेलको ८८ औं मिनेटमा एल्क १० खेलाडीमा सीमित भएको थियो भने पास्टोरे रातो कार्ड पाएर मैदान बाहिरिएपछि एल्क थप दबाबमा पर्‍यो । 

यो जितसँगै ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ जसले २६ खेलबाट ४८ अङ्क जोडेको छ । एक खेल बढी खेलेको एथलेटिको म्याड्रिडको पनि समान ४८ अङ्क भए पनि गोल अन्तरमा बार्सिलोना शीर्ष तीनमा आएको हो ।

लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट ५७ अङ्क रहेको छ । त्यस्तै आइतबार भएको अर्को खेलमा एथलेटिको मड्रिडले रियल बेटिसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।