काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक  आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।

नेताहरुले आजको बैठकमा पदाधिकारी टुंग्याउने तयारी छ । गत पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी सम्पन्न गरिएको थियो ।

२३६ केन्द्रीय समिति मात्रै गठन भएको थियो । केन्द्रीय समिति बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय समिति बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।