बिर्तामोड / नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए ।

शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ ।

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ । पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए ।

त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ । 

शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ ।