बिर्तामोड / शनिवार धरानमा आयोजना भएको १० औँ धरान रन नेवा च्यारिटीमा १० किमीको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बूढा र महिलातर्फ एपिएफका खेलाडी पुष्पा भण्डारी विजयी भएका छन् ।

जुम्लाका दुर्गाबहादुर बुढाले १० किमीको दूरी ३१ मिनेट ३ सेकेन्डमा दौड पुरा गरी विजयी भए भने सोही समूहमा जुम्लाकै अनिष थापाले ३१ मिनेट ४ सेकेन्डमा दूरी पार गरी दोस्रो भएकी थिइन् । दौडमा प्रथम र द्वितीय हुने दुवै जना भारतीय सेनामा कार्यरत रहेका छन् । त्यसैगरी सोही समूहमा काठमाण्डौका मुकेश पालले ३१ मिनेट २० सेकेन्डमा १० किमि दूरी पार गरी तेस्रो भएका छन् । उनीहरूले प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार, ५० हजार र ३० हजार नगद सहित प्रमाणपत्र ट्रफी र मेडल प्राप्त गरे ।

OM Sai Pathibhara Hospital

दौडमा महिलाहरु पनि सहभागी भएका थिए । महिलातर्फको खुल्लातर्फ एपीएफकी खेलाडी पुष्पा भण्डारीले ३५ मिनेट २६ सेकेन्डमा १० किमि दूरी पार गरी विजयी भएकी छिन् । यसै गरी एपिएफ काठमाण्डौकै फूलमती रानाले ३८ मिनेट ४० सेकेन्डमा दूरी पार गरी दोस्रो र काठमाण्डौकी हान्ह कारलले ४१ मिनेट १४ सेकेन्डमा दूरी पार गरी तेस्रो भएकी छिन् । उनीहरूले पनि नगद ६० हजार, ५० हजार, ३० हजार र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

आयोजकले १६ वर्ष उमेर समूहमा पनि प्रतियोगिताको गराएको थियो । सो उमेर समुहमा प्रशान्त तामाङले ३६ मिनेट १० सेकेन्डमा १० किमि दूरी पार गरी प्रथम, रोदन राईले ३६ मिनेट ५० सेकेन्डमा दुरी पार गरी दोस्रो र सरोज सिंहले ४० मिनेट ५८ सेकेन्डमा दूरी पुरा गरी तेस्रो भएका छन् ।

यसै गरी १६ वर्षकै उमेर समूहको महिलातर्फ पेमा तामाङले ५२ मिनेट ५९ सेकेन्डमा दूरी पुरा गरी प्रथम, कुसुम राईले ५९ मिनेट ९ सेकेन्डमा दूरी पुरा गरी दोस्रो र जस्मिता राईले १ घण्टा १ मिनेट ४५ सेकेन्डमा दुरी पुरा गरी तेस्रो भएका छन् । उनीहरू सबैले प्रथमले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यसै गरी भेट्रानको पुरुष तर्फ काठमाण्डौका धर्म महर्जन प्रथम, निमेष क्षेत्री दोस्रो र मङ्गल तामाङ तेस्रो भएका छन् । यसै गरी सोही समूहको महिलातर्फ भारतको कालिम्पोङको सरस्वती राई प्रथम, दार्जिलिङकी तेन्जिङ लामा भुटिया दोस्रो र धरान १६ की शर्मिला राई तेस्रो भएका छन् । उनीहरूले पनि नगद प्रथमले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यसै गरी सुपर भेटेरियनतर्फ इन्द्रबहादुर लिम्बू प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका छन् । देशकै धेरै सहभागी हुने यो प्रतियोगितामा आज धरानमा ४ हजार बढी धावक धाविकाहरू सहभागी रहेको आयोजकले जनाएको छ ।