बिर्तामोड / आजबाट बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा देशकै सबैभन्दा बढि दर्शक बटुल्ने झापा गोल्डकप शुरु हुने भएको छ ।  खेलको पहिलो दिन सातदोबाटो र जावलाखेल भिड्दैछन् ।

हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

OM Sai Pathibhara Hospital

प्रतियागिताको तयारीस्वरूप झापा जिल्लाभरि स्वागत गेटहरू निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ ।

पाँचौ संस्करणको झापा गोल्डकपमा घरेलु टोली झापा–११सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

गोल्डकपमा दुई भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन्

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।

अघिल्लो संस्करण जस्तै पाँचौ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिनेछ ।

यो वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् ।