झापा / भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ ।
ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । ती विद्यालयलाई रु १६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिए ।
महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ठूलो लगानी गर्दै आएको बताइन् । उनले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको बताइन् । उनले भनिन्, “हामीले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन थालेको छ, यसको प्रतिफलस्वरूप सरकारी विद्यालयमा विद्यार्थी संख्या निकै बढेको छ ।”
विद्यालयसम्म विद्यार्थीलाई सहज आवतजावतका लागि बस उपलब्ध गराउने नीति महानगरले लिएको उनको भनाइ छ । उपप्रमुख पार्वती शाहले यातायातको अभावमा कोही पनि शिक्षाबाट बञ्चित नहोस् भन्नका लागि महानगरले बस उपलब्ध गराउँदै आएको बताइन् । उनले आवश्यकता अनुसार थप विद्यालयलाई बस उपलब्ध गराइँदै जाने बताइन् ।