काठमाडौं / आइतबार संघीय संसद्बाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई मुख्यालयले स्वीकार गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी मुख्यालयले नेपालको संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेर कार्यान्वयनतर्फ अघि बढ्ने जनाएको हो ।

OM Sai Pathibhara Hospital

विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई फेब्रुअरी २७ मा अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ। नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको छ। कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउँछ, जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।’

नेपालको कुल जनसङ्ख्याको झण्डै ८० प्रतिशत नेपालीलाई सहयोग पुर्याउने आशाका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य भएको पनि एमसीसीले विज्ञप्तिमार्फत भनेको छ ।

एमसीसी मुख्यालयले संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौतालाई स्वीकार गरेको जनाए पनि ‘व्याख्यात्मक घोषणा’ बारेमा केही बोलेको छैन । १५ गते बसेको संसद्ले भने ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गर्ने भनेको छ ।