बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने लगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए ।

उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो ।

OM Sai Pathibhara Hospital

नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने छ। पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउने लगायत विषयमा प्रशिक्षणसमेत दिएको छ ।