काठमाडौँ / राष्ट्रिय जनमोर्चाले पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमुलक तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पु¥याएको उल्लेख छ ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पु¥याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’