काठमाडौं / सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमसीसीबारे चर्को विवाद भएपछि आज(सोमबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

आजको बैठकमा मुख्य एमसीसीको विषयमा छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

OM Sai Pathibhara Hospital

नेता खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए । शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकालेका थिए । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पष्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।

खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको विज्ञप्तिमार्फत उल्लेख गरेका थिए । अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरूबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख रहेको थियो ।