काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । जसअनुसार आज पनि एमालेको अवरोधले निरन्तरता दिने सम्भावना रहेको छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । संसदको अवरोध खुलाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको पनि बैठक बस्दै छ । बैठकले एमसीसीलगायतका विषयमा निर्णय गर्ने चर्चा छ ।